११ पुस, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् भने दुई जना घाइते भएका छन् ।

स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ ।
आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले आगलागीको कारण थाहा हुन नसकेको र अनुसन्धान भइरहेको जानकारी दिए ।
















