बर्दगोरिया । कैलाली जिल्ला फूटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा यहि पुस १८ देखि पुस २६ गतेसम्म धनगढी रंगशालामा हुन गईरहेको Badri–Kunta Memorial District Level U–16 Smart Generation Championship–2026 का लागि कैलाली जिल्लाका फुटबल क्लबहरु जोरतोरका साथ लागिरहेका छन् ।

यहि बिचमा बिहिवार बद्री कुन्ता मेमोरियल ट्रस्टका अध्यक्ष कमला जोशी संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमले कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका खेलाडीहरु सँग भेट गर्दै वडा नम्बर ४ मा रहेको कोतागडी खेलमैदान समेत अवलोकन गरेका छन् ।
बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमलाई कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टस्का अध्यक्ष प्रमोद मल्ल र बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा गाउँ सरकारका प्रबक्ता मिथुन गौतमले माला लगाएर स्वागत गर्नु भएको हो ।
खेलाडीको खेल र मैदान अवलोकन गर्दै गोकर्ण जोशीले युवा खेलाडिहरुको सक्रियता देख्दा खुशी लागेको बताउँदै आफ्नो संस्थाले कैलालीको फुटबल विकासका लागि सक्दो सहयोग गर्ने बताएका छन् । साथै आफुले जिल्ला हुँदै राष्ट्र सम्म खेलाडीलाई खेलाउन चाहेको बताउनु भयो । उहाँले पालिकास्तर बाट खेलाडी उत्पादन संगै राष्ट्र हुँदै अन्तर्राष्ट्रिय सम्म खेलकुदको माध्यम बाट देशलाई चिनाउन चाहेको बताए ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा प्रबक्ता मिथुन गौतमले यो प्रतियोगिताले खेलाडीको पहिचान संगै सानै उमेर बाट खेल प्रती रुचि बढाउने हुदा पालिका बाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
बर्दगोरिया स्पोर्ट्स क्लबका अध्यक्ष प्रमोद मल्लले खेलाडी छनोट प्रक्रियाका क्रममा बर्दगोरिया स्पोर्ट्स क्लबको खेलमैदानमा Badri–Kunta Memorial फाउन्डेसनका सस्थापक सदस्य गोकर्ण जोशी लगाएतको नेतृत्वमा आएको टोलीले अन्डर–१६ का खेलाडीहरूलाई हौसला, प्रेरणा र सकारात्मक ऊर्जा मिलेको बताएका छन् ।
- प्रतियोगीताको विजेता टोलीले नगद २ लाख, आकर्षक ट्रफी र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगीतामा पहिलोपटक जिल्लाको विकट क्षेत्र चुरे र मोहन्याल गाउँपालिकाको टिम पनि सहभागी हुँदैछ । यस्तै टिकापुर, लम्कीचुहा, भजनी,जानकी, जोशीपुर बर्दगोरिया, घोडाघोडि, गौरीगंगा, कैलारी, गोदावरी र धनगढीका गरी १३ पालिकाको १३ वटै टोलीले प्रतियोगीतामा सहभागिता जनाउने भएकाछन ।
















