
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्व दुई करोड ९१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न पालिकाको १६औ गाउँसभामार्फत बजेट सार्वजनिक गरिएको हो ।

पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरिले आर्थिक बर्ष २०८३/०८३ को लागि निति तथा कार्यक्रमसहित १ अर्व दुई करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन । जसमा चालुतर्फ ३४ करोड ३९ लाख र पुजिगततर्फ ४१ करोड ५२ लाख रुपैयाँ र सामाजिक सुरक्षातर्फ २७ करोड रुपैयाँ रहेको छ ।
सभामा आन्तरिक आयतर्फ ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१, राजश्व बाँडफाँडतर्फ १० करोड ७८ लाख ९९ हजार ४ सय १९, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) रु. ५२ करोड २७ लाख,अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार: रु. ५ करोड ७० लाख ४७ हजार,सरी आएको मौज्दात रु. ३ करोड ४५ लाख र सामाजिक सुरक्षातर्फ २७ करोड गरि कूल १ अर्ब २ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो ।

उपाध्यक्ष गिरिले सार्वजनिक गरेको यो बजेट चालु आर्थिक वर्ष २०८१/०८२ को भन्दा २२ करोड ९० लाख ९१ हजारले बढी हो। चालु आ.व. का लागि पालिकाले ८० करोड १ लाख रुपैयाँको बजेट ल्याएको थियो।
संघ सरकारले नगरपालिकाको बजेट कटौती गर्दै गाउँपालिकामा वृद्धि गरेसँगै तुलानात्मरूपमा गाउँपालिकाहरूको बजेटको आकार बढेको पाइन्छ ।
बर्दगोरिया गाउँपालिकाको समृद्धिको आधार, शिक्षा ,स्वास्थ्य ,कृषि र पुर्वाधारमा सुधार भन्ने नारासहित पालिका को १६ औ गाउँ अधिबेशनको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
पालिकाले आर्थिक बर्ष २०८२/०८३ मा गुणस्तरीय शिक्षा, स्वास्थ्य एवम् स्वच्छ खानेपानी,गुणस्तरीय भौतिक पुर्वाधार निर्माण ,वातावरण संरक्षण एवम् विपद व्यवस्थापन,कृषि ,पर्यटन एवम् सहकारी क्षेत्रको विकास ,महिला बालबालिका ,अपांगता एवम् जेष्ठ नागरिकको सम्मान संरक्षण एवम् सशक्तीकरण ,सुशासन ,प्रभावकारी सेवा प्रवाह ,सूचना प्रविधिको विकास एवम् गरीबी निवारणलाई प्राथमिकतामा पारेको जनाइएको छ ।
पालिकाले समग्र गाउँबासीको सुशासन ,विकास र समृद्धि सम्बन्धि आकाङ्क्षालाई सम्बोधन गर्नेगरी बजेट ल्याएको जनाएको छ ।