यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

काठमाडौँ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् ।

गृहमन्त्री लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको जनाएका छन । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा रहेका छन् ।

त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् ।

त्यसैगरी बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको सन्दर्भमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले व्यवसायीका विषयमा सरकार गम्भीर रहेको बताउँदै उक्त विषय संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिने बताए । उनले प्रदेश सरकारसित पनि कतिपय विषय जोडिएको सन्दर्भमा प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यदलका सदस्य सचिव रवीन्द्र आचार्यले कार्यदलले छलफल सुरु गरिसकेको जानकारी दिए । ‘गृह मन्त्रालयमा कार्यदल गठनपछि आजैदेखि वार्ता र संवाद सुरु भइसकेको छ’ आचार्यले ।

गृह मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार