काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज पनि सुनुवाइ भएन । काठमाडौँ जिल्ला अदालतमा आइतबारका लागि पेसी तोके पनि मुद्दाको आज पनि सुनुवाइ भएन ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत वर्ष कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् ।
यता एसिया कपका लागि सन्दीपलाई पाकिस्तान पठाइने या नपठाइने भन्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले औपचारिक धारणा अहिले सम्म दिएको छैन ।
पेसीकै कारण सन्दीप टोलीसँग पाकिस्तान गएनन् । नेपालले पाकिस्तानविरुद्ध भदौ १३ गते पहिलो खेल खेल्दै छ ।