बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १७ औँ गाउँ सभा सम्पन्न बिहीबार भएको छ ।
गाउँ सभा मार्फत आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्त सम्मको वित्तीय प्रगति सार्वजनिक, कार्यपालिका बैठकमा भएका निर्णय अनुमोदन, विधेयक तथा कानुन पारित र संशोधन तथा बजेट संशोधन र रकमान्तरका विषयमा पनि छलफल गरी पारित गरिएको छ ।
गाउँपालिकाको हाल सम्म कुल अनुमानित बजेटको ४९.०५ प्रतिशत रकम प्राप्त गरेको छ । कुल ७७ करोड १९ लाख बजेट मध्ये हाल सम्म ३७ करोड ८६ लाख ४० हजार रुपैयाँ प्राप्त भएको गाउँ सभा मार्फत जानकारी दिइएको छ ।
चालु खर्चको अनुमानित बजेट ३८ करोड ९४ लाख ४७ हजार मध्ये १७ करोड ७१ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । जुन अनुमानित रकमको ४५.४९ प्रतिशत खर्च हो । यस्तै पुँजीगत अनुमानित ३८ करोड २४ लाख ५३ हजार बजेट मध्ये १५ करोड ५६ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । जुन पुँजीगत तर्फ अनुमानित रकमको ४०.७० प्रतिशत हो ।
सङ्घीय सरकारबाट आउने प्रस्तावित कुल आय ५२ करोड २७ लाख मध्ये हाल सम्म २३ करोड ५९ लाख ६२ हजार रुपैयाँ प्राप्त गाउँपालिकालाई भएको छ । जुन अनुमानित बजेटको ४५.१४ प्रतिशत रकम हो । यस्तै प्रदेश सरकारबाट प्रस्तावित कुल आय ५ करोड ७० लाख ४७ हजार मध्ये हाल सम्म गाउँपालिकाले २५.७३ प्रतिशत अर्थात् १ करोड ४६ लाख ८१ हजार बजेट प्राप्त भएको छ । राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित बजेट १० करोड ९८ लाख ९९ हजार मध्ये हाल सम्म ५ करोड ७८ लाख ४६ हजार रुपैयाँ गाउँपालिकाले प्राप्त गरेको छ । जुन अनुमानित बजेटको ५२.६४ प्रतिशत हुन आउँछ । ८ करोड २२ लाख ५३ हजार आन्तरिक श्रोत सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाले हाल सम्म ३३.९३ प्रतिशत अर्थात् २ करोड ७९ लाख ८ हजार रुपैयाँ सङ्कलन भएको गाउँपालिकाले जनाएको छ ।



















