कैलाली । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, साना बच्चा भएका महिला तथा अन्य विशेष समूहका मतदाताले लाइन नलागी सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार फरक क्षमता भएका तथा अन्य प्राथमिकता समूहका मतदातालाई सहज रुपमा मतदानको व्यवस्था गर्न सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिएका हुन्।
उनका अनुसार अन्य महिला र पुरुष मतदाताहरुले भने नियमित रूपमा लाइनमा बसेर मतदान गर्नुपर्नेछ।
मतदान प्रक्रियाअनुसार मतदाताले सुरुमा ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत सेतो कागजमा रातो अक्षर रहेको मतपत्रमा उम्मेदवारलाई मत सङ्केत गरी १ नम्बर लेखिएको मतपेटिकामा हाल्नेछन्। त्यसपछि सेतो कागजमा कालो अक्षर रहेको समानुपातिक मतपत्रमा आफूले रोजेको राजनीतिक दलमा मत सङ्केत गरी २ नम्बर लेखिएको मतपेटिकामा खसाल्नुपर्नेछ। पहिलो मतपत्रको छाप उम्मेदवारका लागि र दोस्रो मतपत्रको छाप राजनीतिक दलका लागि मान्य हुनेछ।
निर्वाचन तयारी करिब ९५ प्रतिशत पूरा भइसकेको कार्यालयले जनाएको छ। सरकारदेखि सरकार (जीटुजी) प्रक्रिया अन्तर्गत ३७ प्रकार र निर्वाचन आयोगबाट प्राप्त १४ प्रकार गरी जम्मा ५१ प्रकारका निर्वाचन सामग्रीसहित कर्मचारीहरू खटाइएको छ। मतदाता पहिचानका लागि रङ्गीन फोटोसहितको मतदाता नामावली मतदान केन्द्रहरूमा पठाइएको छ।
निर्वाचनमा खटिएका कर्मचारीले फागुन १८ र १९ गते सर्वदलीय तथा सर्वपक्षीय भेला गर्ने कार्यक्रम रहेको छ। प्रदेशका ७६४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा रहेको छ भने निर्वाचन सम्पन्न गर्न करिब १५ हजार कर्मचारी परिचालन गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा दुई हजार १९९ मतदान केन्द्र र एक हजार १७६ मतदान स्थल तोकिएका छन्। १६ वटै निर्वाचन क्षेत्रमा २४ राजनीतिक दलका २०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने २८ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
निर्वाचन अधिकारी भट्टले निर्वाचन आचारसंहिता सबैका लागि लागू हुने भएकाले यसको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।

















