आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ। हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष फरक–फरक मितिमा पर्छ । यस वर्ष आजबाट आरम्भ भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ । यस अवधिमा व्रत बस्दा वा कथा श्रवण गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने विश्वास गरिन्छ ।

 

पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र श्रीस्वस्थानी माताको व्रत गरेकी थिइन् । लामो समयसम्म व्रत, साधना र संयमको अभ्यासपछि पार्वतीको मनोकामना पूरा भई भगवान् शिवसँग विवाह भएको शास्त्रहरूमा उल्लेख छ । यही कारण श्रीस्वस्थानी व्रतलाई मनोकामना पूर्ति गराउने व्रतका रूपमा लिइन्छ ।

 

मार्कण्डेय पुराणको हिमवत् खण्डमा यस व्रतको विधि, महत्त्व र कथाहरू विस्तारपूर्वक वर्णन गरिएको छ । यस व्रतले सत्य, धैर्य, संयम र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ ।

 

परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि श्रीस्वस्थानी व्रत बस्ने गर्दछन् । अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह तथा जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ । पछिल्लो समय अध्ययनमा सफलता, रोजगारी, व्यापार उन्नति, स्वास्थ्य लाभ, विदेश यात्रा, सन्तान प्राप्ति, मानसिक शान्ति तथा पारिवारिक सुख–शान्तिका लागि समेत श्रद्धालुहरूले यो व्रत बस्ने गरेका छन् । श्रीस्वस्थानी व्रतलाई बाह्य पूजामात्र नभई आत्मसंयम र आत्म शुद्धिको माध्यमका रूपमा लिइन्छ ।

 

शास्त्रीय विधानअनुसार श्रीस्वस्थानी व्रत सुरु गर्नुभन्दा एक दिनअघि हात–खुट्टाका नङ काटी, शरीर शुद्ध गरी एक छाक मात्र भोजन गर्नुपर्दछ । पौष शुक्ल पूर्णिमाका दिन बिहान सबेरै उठी पवित्र नदी, खोला, तलाउ वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ ।

 

पूजा स्थल सफा गरी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवा वा माटोले शिवलिङ्ग स्थापना गरिन्छ । तिल, जौ, कुश, अक्षता, बेलपत्र, जनै, सुपारी, पान, धूप, दीप, फलफूल र नैवेद्यको व्यवस्था गरिन्छ । त्यसपछि “आजदेखि म एक महिनासम्म श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्दछु” भनी दृढ सङ्कल्प गरी व्रत सुरु गरिन्छ ।

व्रत अवधिभर प्रत्येक दिन सूर्य उदय हुनुअघि स्नान गरी नित्यकर्म गर्नुपर्ने मान्यता छ । बिहान पूजा, मध्यान्हपछि कथा श्रवण र साँझ पुनः ध्यान गर्ने परम्परा रहिआएको छ । व्रत बस्नेले झगडा नगर्ने, दुर्वचन नबोल्ने, नकारात्मक सोच नराख्ने र असत्य मार्गबाट टाढा रहने प्रयास गर्नुपर्दछ ।

व्रतको क्रममा मासिक धर्म ९रजस्वला० भएमा शास्त्रीय नियमअनुसार पाँच दिनसम्म पूजा स्थगित गरी शुद्ध भएपछि पुनः पूजा सुरु गर्नुपर्ने व्यवस्था छ, जसलाई धार्मिक शुद्धता र अनुशासनको प्रतीक मानिन्छ ।

व्रत अवधिभर दीप, कलश, गणेश, शिव र श्रीस्वस्थानी माताको पूजा गरिन्छ । वैदिक मन्त्रोच्चारणसहित पूजा गर्दा मन, वचन र कर्मले जानी–नजानी गरिएका पाप नाश भई आत्मा शुद्ध हुने विश्वास छ । व्रतालुहरूले यस लोकमा सुख, शान्ति र समृद्धि तथा मृत्युपछि स्वर्ग प्राप्तिको कामनासमेत गर्ने परम्परा रहेको पाइन्छ ।

समापन विधि र विशेष पूजा

माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फलफूललगायत १०८ सगुनसहित नाना उपचार तयार गरिन्छ । आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराई श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूप–दीप, नैवेद्य, वस्त्र र भेटी अर्पण गरिन्छ ।

पूजा सम्पन्न भएपछि अर्घ र प्रसाद निकालेर अष्टोत्तर विधिअनुसार सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान र आठ कुड्का सुपारी सगुनसहित पतिलाई दिने, पति नभए छोरालाई, छोरो पनि नभए मित छोरालाई दिने चलन छ । ती पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो, त्यो पूरा होस् भनी खोलामा बगाइदिने शास्त्रीय विधान छ । सय रोटी व्रतालुले फलाहार गर्ने र राति जाग्राम बस्नुपर्ने उल्लेख शास्त्रमा गरिएको छ ।

श्रीस्वस्थानी व्रत सर्वप्रथम पार्वतीले श्रीमहादेवलाई पति रूपमा प्राप्त गर्न लिएको मानिन्छ । व्रतको प्रभावले उनको मनोकामना पूरा भएपछि पार्वतीले अश्वस्थामा सप्तऋषिलाई बोलाई पाताल लोकमा दुःखीहरूलाई पनि विधिपूर्वक श्रीस्वस्थानी व्रत कथा गर्न आज्ञा दिएको कथन पाइन्छ ।

सप्तऋषिहरू रसातल पुगी दुःख भोगिरहेका नागिनीहरूलाई व्रतको विधि बताएपछि उनीहरूले व्रत लिँदा वर्षौंदेखि हराइरहेका नागहरू घर फर्किएको कथा उल्लेख छ ।

त्यसपछि गोपिनी तथा गोमा ब्रह्माणीले श्रीस्वस्थानी व्रत लिएको प्रसंग आउँछ । महादेवको श्रापपछि गोमाको सत्तरी वर्षका शिवशर्मा ब्राह्मणसँग विवाह भएको, शिवशर्माको निधनपछि छोरा नवराज बाबुको खोजीमा हिँडेको र लामो समयपछि नफर्किएपछि गोमाले व्रत लिँदा व्रत सकिएको दिन नवराज घर फर्किएको कथा वर्णन गरिएको छ । पछि नवराज लावण्य देशका राजा बनेको उल्लेख पाइन्छ ।

लावण्य देशकी रानी चन्द्रवतीसँग सम्बन्धित कथामा पनि श्रीस्वस्थानी व्रतको प्रभावले पुनः स्वास्थ्य लाभ भई रानी बनेको प्रसंग उल्लेख छ ।

काठमाडौँको उत्तर–पूर्व क्षेत्रमा पर्ने शाली नदीमा माधवनारायणको एक महिना लामो मेला लाग्ने गर्छ । माघ महिनामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट लाखौँ भक्तजन आउने गर्दछन् । माघ महिनामा स्नान गर्दा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार