बर्दगोरिया धाममा माघी मेला २०८२ हुने

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया धार्मिक क्षेत्रमा माघी मेला लाग्ने भएको छ ।

हरेक वर्षमा लाग्ने माघी मेलालाई यसवर्ष पनि निरन्तरता दिइएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक संरक्षण मञ्चले जनाएको छ ।

गाउँपालिकाको वडा नं.२ स्थित बर्दगोरिया धाममा आयोजना हुने मेलाका लागि शुक्रबार सरोकारवाला पक्षबीच छलफल गरिएको छ ।

माघी पर्वका असवरमा यहि पुष २८ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो । यहाँ विगतका वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनुका साथै भारतिय रामलिला लगाइने भएको छ।

मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न माघी मेलाको आयोजना गरिएको बर्दगोरिया क्षेत्र बिकास तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीले बताए ।

बर्दगोरिया धाममा माघीमा परापूर्वकाल देखि नै ठूलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नयाँ वर्षका रुपमा लिँदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाईबाट भक्तजनहरु मेला भर्न आउने गर्छन् । त्यस्तै, स्थानीय पर्यटकले मेला अवोलकन गर्न आउने गरेका छन् ।’

माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरिया धार्मिक क्षेत्रमा रहेको ताल, पोखरीमा नुहाउने गर्छन् । गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचारप्रसारमा टेवा पुग्ने संरक्षण मञ्चला सचिब नवीन ढुंगानाले जानकारी दिए ।

 उनले परापूर्वकाल देखिको पौराणिक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, तथा पिरुवा, पुरैना ताल, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वारा संगै झुलुङ्गे पुल पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी दिए ।

मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौखिकता झल्काउने भेषभुषा र पंचे बाजासहितको, झाँकीहरु प्रदर्शन गरिने जनाइएको छ । बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् ।

यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ । माघी मेलालाई सफल बनाउनका लागि आफुले सबै सहयोग गर्ने बर्दगोरिया गाउँपालिकाका वडा नं.२ का वडाध्यक्ष गोविन्द विकले बताए ।

बर्दगोरियामा माघमा लाग्ने माघी मेलाबाहेक कार्तिक, मंसिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।

कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार, भलभान्सा, भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार