प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारीः तोडिनेछन् विगतका केही परम्परा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाल लागेका हुन ।

 

१५ र १६ गते अगष्ट ३१ र सेप्टेम्बर १० मा बेइजिङमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर फर्किएपछि उनी भारत भ्रमणमा जाने भएका हुन् ।

 

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ । सोही भ्रमणको तयारीबारे छलफल गर्न आगामी आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदैछन् ।

प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको ओलीको भारत भ्रमणमा विगतका केही परम्परा तोडिने सम्भावना छ ।

 

उदाहरणका लागि ओलीको यसपटकको भारत भ्रमण दुई दिनको मात्र हुने सम्भावना छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ३१ भदौमा भारत प्रस्थान गर्ने ओली नेतृत्वको नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ । नेपालका विगतका प्रधानमन्त्रीबाट भएको भारतको औपचारिक भ्रमणमध्ये यो सम्भवतः अहिलेसम्मकै छोटो हुनेछ ।

ओली–मोदी भेटमा पनि विगतका परम्परा तोडिने सम्भावना छ । किनभने नेपाल र भारतका समकक्षीबीच बोधगयामा भेटवार्ता गर्ने तयारी छ । बोधगया गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल हो ।

विगतमा भारतीय प्रधानमन्त्रीले नेपाली समकक्षीलाई नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता गर्ने परम्परा थियो । यसपटक बिहारको बोधगयालाई रोजिएको छ ।

‘भ्रमणका अन्य विवरण खुलिसकेको छैन । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी आइतबार काठमाडौं आएपछि भ्रमणका विषयमा विस्तृत छलफल गर्ने तयारी छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यसपटक यसपटक ठूला एजेन्डाहरुमा प्रवेश गर्ने सम्भावना कम छ, तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुने नेपालको तयारी छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका विषयमा छलफल सुरु भइसकेको छ,’ स्रोतले भन्यो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार