
कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–४, नाष्ट कलेज नजिक गएराती भीषण आगलागी भएको छ। राति करिब १०ः५० बजे सुरु भएको आगलागी सेन्टर पोइन्ट रेस्टुरेन्ट, हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स लगायतका आठवटा सटरमा फैलिएको थियो।

स्थानीय व्यापारी विश्व प्रकाश कडेलद्वारा सञ्चालित ती पसलहरूमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो लागेपछि सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) बाल नरसिंह राणाको कमाण्डमा खटिएको नेपाल प्रहरीको ४५ जनाको टोली र सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) सरोज खतिवडाको कमाण्डमा २५ जनाको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।

धनगढी उपमहानगरपालिकाबाट २ वटा र गोदावरी नगरपालिकाबाट १ वटा दमकलसहित सुरक्षाकर्मीहरू र स्थानीयवासीहरूको सक्रिय सहयोगमा राति १२ः१० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको हो।

आगलागीबाट हेलेन सप्लायर्सका चार वटा सटर, परिवर्तन इन्पेक्स (कपडाको होलसेल पसल)का, तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटर गरी जम्मा आठ वटा सटरहरूमा क्षति भएको प्रहरीले जनाएको छ ।

हालसम्म आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइसकेको छैन ।