आन्दोलनरत सुनचाँदी व्यवसायी सङ्घद्वारा बर्दगोरियामा प्रदर्शनीः सङ्घले स्थानीय सरकार मार्फत नेपाल सरकारलाई बुझायो ज्ञापन पत्र 

बर्दगोरिया । आन्दोलनरत सुनचाँदी व्यवसायी सङ्घले बर्दगोरियामा बिहीबार प्रदर्शनी गरेको छ ।
सरकारले सुनचाँदीमा लगाइएको विलासिता कर फिर्ताको माग गर्दै आन्दोलनरत नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, रत्न तथा आभूषण महासङ्घ, कला व्यावसायिक महासङ्घ लगायतकाले बिहीबार कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रदर्शनी गरेका छन् ।
सरकारले सुनचाँदीका गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप सङ्कटमा परेको भन्दै उक्त कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी सङ्घ उपशाखा बर्दगोरियाले  पनि बिहीबार बर्दगोरियामा प्रदर्शन गरेको हो ।
सरकाले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा सुनचाँदीमा विलासी कर भन्दै २ % (दुई प्रतिशत) र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लगाएको १३ % (तेह्र प्रतिशत)  मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने माग गर्दै आफूहरू आन्दोलनरत बन्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य गणेश सुनारले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी महासङ्घका सभापति सन्तोष लामिछानेले बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि मात्र नभई आम उपभोक्तामा नकारात्मक असर पर्ने देखिएको बताए । उनले आफूहरूको मागहरू सम्बोधन गर्न हाल शान्तिपूर्ण आन्दोलन गरेको बताउँदै यसलाई सरकारले अव्यवस्था गरेको खण्डमा आफूहरू जुनसुकै किसिमको आन्दोलनमा उत्रिने र उक्त आन्दोलनमा भएका हरेक प्रकारका दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने हुँदा समयमै सरकारले आफ्ना मागहरू सम्बोधन गर्न सरकारलाई चेतावनी दिएका छन ।
उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौँ, उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड सहितको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका बर्दगोरिया सभापति कृष्ण विष्ट, नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष राम बहादुर साउद (आयाम) र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति केशव भण्डारी लगायतकाले विरोध सभालाई ऐक्यबद्धता जनाउँदै सरकारले सुनचाँदीमा लगाएको विलासिता करको विरोध गर्दै तत्काल हटाउनु पर्ने माग गरे ।
कार्यक्रममा सुनचाँदी व्यवसायी सङ्घमा आबद्ध विभिन्न पालिकाका अध्यक्षहरू तथा व्यापारीको सहभागिता रहेको थियो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियाँ तरकारी हाट बजार बाट नारा सहित सुरु भएको आन्दोलन बौनियाँ चौराहा कोण सभामा परिणत भएको थियो ।
कोण सभा पच्छात सुन चाँदी व्यवसायी सङ्घ कैलाली उपशाखा बर्दगोरीयाका अध्यक्ष राम विक्रम सिजपती, प्रदेश इन्चार्ज रूपक सुनार, प्रदेश सभापति सन्तोष लामिछाने लगायतको टिमले बर्दगोरिया गाउँपालिका कार्यालयमा पुगी स्थानीय सरकार बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी (लाल्दीप) र प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ मार्फत नेपाल सरकारका कार्यकारी सम्माननीय प्रधान मन्त्री तथा अर्थ मन्त्री लाई ज्ञापन पत्र बुझाएका हुन ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार