
काठमाडौं: राजसंस्था पुनःस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनलाई निरन्तरता दिएको छ। राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग राख्दै राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले संघीयता खारेज गर, गणतन्त्र खारेज गर, हिन्दुराष्ट्र कायम गरलगायतका नारा लगाएका थिए।

राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरूको संयुक्त प्रयास भएको समितिले जनाएको छ।
प्रदर्शनका क्रममा राप्रपा नेता ज्ञानेन्द्र शाहीले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले राजसंस्था र हिन्दू राज्यसहितको नयाँ व्यवस्था कायम हुनुपर्ने बताए। उनले मुलुकमा राष्ट्रपति नभइ अभिभावकीय संस्थाका रूपमा राजा चाहिने बताए। राजसंस्था पुनःस्थापनाको लागि आफूहरूको आन्दोलन निरन्तर रहने समितिले जनाएको छ।

राजावादीहरले आन्दोलनका क्रममा शनिबार दरवार मार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन्। भने यता राजावादीहरूको शनिबार दरवार मार्ग क्षेत्रमा हुने प्रदर्शन लाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार विज्ञप्ती जारी गर्दै शनिबार देखि लागू हुने गरी असार २४ गतेसम्मका लागि उक्त क्षेत्रलाई निषेधित बनाएको जानकारी दिएका छन्।
प्रजिअ तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै दक्षिण गेटसम्मको क्षेत्र निषेधित घेरामा पर्नेछ।
यस क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, प्रदर्शन, जुलुस, सभा वा कुनै पनि प्रकारका विरोध कार्यक्रम गर्न पाइने छैन।
प्रशासनले शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नुपर्ने आवश्यकता देखिएको भन्दै यस्तो निर्णय लिएको जनाएको छ।