काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्य विभाजन तोकिएको छ ।
प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मङ्गलवार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् ।
प्रदेश इन्चार्ज पोखरेलका अनुसार प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाइएको छ।
जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् ।
यसै गरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लच्छीराम आचार्य र ५ नम्बर क्षेत्रमा ओमप्रकाश पुनलाई जिम्मेवारी दिएको छ । यस्तै कञ्चनपुर १ मा दीपा चौधरी, २ मा निर्मला बडाल जोशी र ३ मा मानबहादुर सुनारलाई जिम्मेवारी दिएको छ ।
अछाम १ मा दीपकबहादुर साउद र २ मा रामप्रसाद तिमिल्सिना रहेका छन् । यसै गरी डोटी १ मा त्रिलोचन भट्ट, डडेलधुरा १ मा कुन्ती जोशी, बैतडी १ मा नरेन्द्रबहादुर कुँवर, दार्चुला १ मा लक्ष्मणदत्त जोशी, बझाङ १ मा मीनबहादुर कुँवर, बाजुरा १ मा कर्णबहादुर बिक रहेका छन् । सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा सङ्घीय निर्वाचन क्षेत्र र ३२ वटा प्रादेशिक निर्वाचन क्षेत्र रहेका छन् ।
यसै गरी प्रदेशका सम्बन्धित विभागमा संयोजन गर्ने गरी ३२ वटा विभागमा जिम्मेवारी तोकिएको छ । जन वर्गीय सङ्गठन र जातीय मोर्चासँग सम्बन्धित नेताहरूको जिम्मेवारी तोकिएको छ । नेता गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका नेताहरूले दुई हजार जम्मा गर्न पोखरेलले निर्देशन दिएका छन् ।