आज पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं । हिन्दुहरुको महान् चाड दशैंको निरन्तरता आज पनि जारी छ । शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्तले विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेको देखिन्छ ।

यस्तै बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भएपनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमासम्म निरन्तर चलिरहन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार