बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकालाई बिहिवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
जन्मे देखि १५ महिनासम्म हरेक बालबालिकाले खोप लगाइ सक्नु पर्नेमा त्यसमा छुटेकाहरूलाई १६ देखि ५९ महिना भित्र सो खोप लगाउनु पर्ने हुन्छ । पालिकाको स्वास्थ्य शाखाका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ८ सय ६७ जनाले पूर्ण खोप लगाएका छन् ।
राष्ट्रिय खोप तालिकाअनुसार पालिकामा रहेका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताउनुभयो । जुन सुनिश्चितताको सर्वेक्षण र घोषणा पालिकाहरूले हरेक वर्ष गर्नुपर्छ ।
पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि कैलाली जिल्ला खोप समन्वय समितिका संयोजक खगराज भुसाल रहेका थिए । यसैगरी विशिस्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगाना रहनुभएको थियो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि जिल्ला खोप समन्वय समिति कैलालीका संयोजक खगराज भुसालले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्णखोप सुनिश्चितता पालिका घोषणा हुन सफल भएको बताउनुभयो । उहाँले खोपसँगै अन्य कार्यक्रमहरूमा पनि यी निकायहरुहरुको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।
पूर्ण खोप सुनिश्चितता कार्यक्रममा पालिका भित्रका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत प्रमुख तथा खोप फोकल पर्सनलाई प्रशंसा पत्रमार्फत सम्मान गरिएको छ । खोप कार्यक्रमको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र वितरण गरिएको हो ।