सुदूरपश्चिममा हजारौं ज्येष्ठ नागरिक स्वास्थ्य बीमाबाट वञ्चित

कैलाली । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अनिवार्य गरेको छ । तर, सुदूरपश्चिम प्रदेशमा अझै २६ हजार १८० ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा भएको छैन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा १ लाख १२ हजार ५५४ जना ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन् । जसमा महिला ६४ हजार ७४२ र पुरुष ४७ हजार ८१२ रहेका छन् । यसमध्ये ८६ हजार ३७४ जनाको स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश कार्यालयका अनुसार ४९ हजार ६६६ महिला र ३६ हजार ७०८ जना पुरुषको स्वास्थ्य बीमा भएको छ ।

कैलालीमा ३१ हजार ६६९, कञ्चनपुरमा १७ हजार ३००, डडेल्धुरामा ५ हजार १५७, डोटीमा ४ हजार १३० ज्येष्ठ नागरिकको मात्रै स्वास्थ्य बीमा भएको छ । यस्तै दार्चुलामा ४ हजार ४४८, बझाङमा ४ हजार ४६५, बाजुरामा २ हजार ३०८ र अछाममा ८ हजार ४९ जनाको स्वास्थ्य बीमा गरिएको बोर्डले जनाएको छ ।

निःशुल्क हुँदाहुँदै परिवारका सदस्यहरुले ज्येष्ठ नागरिकहरुको बीमा नगराइदिँदा स्वास्थ्य बीमा हुन नसकेको बोर्डको धनगढी कार्यालय संयोजक रमेन्द्र कुशवाह बताउँछन् । उनका अनुसार ज्येष्ठ नागरिकहरुको हकमा वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा निःशुल्क हुन्छ ।

संयोजक कुशवाहले एचआईभी संक्रमित, अति गरिबको परिचयपत्र पाएका व्यक्ति, एमडीआर टीबी, कुष्ठरोग र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बीमा पनि निःशुल्क हुने बताए ।

स्वास्थ्य बीमा नै न्यून

बोर्डको प्रदेश कार्यालयका अनुसार अन्य उमेर समूहका व्यक्तिहरुको स्वास्थ्य बीमा पनि न्यून मात्र भएको छ ।

जनगणनाअनुसार सुदूरपश्चिमको कुल जनसंख्या २६ लाख ९४ हजार ७८३ रहेको छ । जसमा ७० वर्षमुनिको जनसंख्या २५ लाख ८२ हजार २२९ रहेको छ । यो संख्याको करिब १७ प्रतिशले मात्रै स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाख ३१ हजार ५४२ महिला र २ लाख १४ हजार ६६७ पुरुष गरी ४ लाख ४६ हजार २०९ जनाले मात्रै स्वास्थ्य बीमा गराएका छन् ।

कैलालीमा ३ लाख ४४ हजार ६८६, कञ्चनपुरमा ४० हजार ३४, डडेल्धुरामा १४ हजार २५७, बैतडीमा १४ हजार ४६२ र डोटीमा १० हजार ६८२ जनाले स्वास्थ्य बीमा गराएका छन् । यस्तै दार्चुलामा ७ हजार ५०९, बझाङमा ३५ हजार २७८, बाजुरामा ३२ हजार २२१ र अछाममा ४७ हजार ८० जनाले स्वास्थ्य बीमा गराएका छन् ।
पाँच जनासम्म सदस्य रहेको परिवारले प्रतिपरिवार ३ हजार ५०० रुपैयाँमा एक लाख बराबरको स्वास्थ्य बीमा गर्न पाउने व्यवस्था छ ।

बोर्डको धनगढी कार्यालयका संयोजक कुशवाहले भने, ‘५ भन्दा बढी सदस्य संख्या भएको परिवारले प्रतिसदस्य ७ सय रुपैयाँ थप गर्नुपर्छ ।’

यसरी थप भएका व्यक्तिको हकमा प्रतिव्यक्ति २० हजार बीमा रमक बढ्ने उनले जानकारी दिए । #नेपाल_प्रेस_बाट_साभार

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार